राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् ।
उनले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको शनिबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै बताएका हुन् ।
‘सकेसम्म सरकार निर्माण लगायत सबै विषयमा यो ५ वर्ष राष्ट्रिय सहमति गरेर जाऔं । नभए कमसेकम देशको अभिभावकको रुपमा परिकल्पना गरिएको राष्ट्रपति चाहिँ सबैको सहमतिमा बनाऔ, भन्ने बहस चलिरहेको छ । त्यसमा कहाँ गएर कुन व्यक्तित्वमा सहमति बन्छ अहिले भन्न सकिँदैन’ उनले भने ।
राष्ट्रपतिमा तपाईंको पनि नाम आएको छ नि भन्ने पत्रकारको प्रश्नमा भट्टराईले शुभेच्छुकहरुले नाम लिएको बताए । मलाई के लाग्छ भने शासकीय स्वरुप र निर्वाचन प्रणली नबदलिएसम्म अस्थिरताको खतरा हुन्छ, त्यसैले राष्ट्रिय सहमतिका लागि निरन्तर पैरवी गरेको छु’ उनले भने, ‘सायद त्यसैमा आधारित भएर होला कतिपय शुभेच्छुकले पनि एउटा पात्र हुन सक्छु भन्ने चर्चा चलाउनुभएको छ, म आफैंले त्यसबारे बोल्नु समय भन्दा अगाडि हुन्छ ।’
अहिले पनि राष्ट्रिय राजनीतिमा अन्योल र अस्थिरताको संकेत मिलिरहेको भन्दै भट्टराईले त्यसलाई स्थिरतातर्फ ल्याउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।
‘बिडम्बनाका कारण के देखियो भने एउटा गठबन्धन बनाएर निर्वाचन लड्यौं सरकार बन्ने बेला अर्को गठबन्धन र विभिन्न मुद्दाहरुमा समीकरण फेरिरहने जन परिस्थिति आएको छ’ उनले भने, ‘यसले राष्ट्रपतिजस्तो देशको एकताको प्रतीक संविधानको रक्षक, अभिभावकीय भूमिका दिएको संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति भएन भने अस्थिर राजनीतिक परिवेशमा अलि प्रतिकुल असर पर्न सक्छ ।’
