राष्ट्रपतिको विषयमा प्रधानमन्त्रीलाई आज कस्तो सुझाव आउला ?

१३ माघ २०७९, शुक्रबार ११:१२

स्थायी कमिटीका सदस्यहरूसँग राष्ट्रपतिको विषयमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुझाव माग गरेका छन् ।

सत्ताबाहिर रहेको नेपाली कांग्रेसले र सत्ता गठबन्धन दल नेकपा एमाले राष्ट्रपतिमा दावी गरिरहेका बेला विहिबारदेखि शुरु भएको स्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले सुझाव मागेका हुन् ।

वर्तमान सत्ता गठबन्धन एमालेकै जगमा बनेका कारण एमालेबाट बाहिर जान कठिन रहेको तर राष्ट्रिय सहमति बन्ने अवस्थामा कांग्रेस लगायतका दलहरूको पनि सहभागी हुने भएपछि माओवादी अध्यक्ष प्रचण्डले बैठकको शुरुवातमै राजनीतिक प्रतिवेदन पेश गर्दा राष्ट्रपतिबारे पनि सुझाव दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं उपमहासचिव हरिबोल गजुरेलले भने, ‘राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्ति होस भन्ने हामी सबैको चाहाना छ, एमाले वा कांग्रेस जसले प्रस्ताव गरे पनि राष्ट्रिय रूपमा सहमति बन्न सकोस् भन्ने चाहाना प्रधानमन्त्रीज्यूले राख्नु स्वाभाविक हो।’

पार्टीको बैठकमा अधिकांश पदाधिकारीहरूले एमालेप्रति अझै शङ्काको दृष्टिले हेर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले राष्ट्रपतिको निर्वाचनमा झन् बढी नै शङ्का गर्नुपर्ने भएकाले एमालेकै पात्र भए पनि वाम आन्दोलन र वामगठबन्धप्रति सहज हुने व्यक्ति छान्न सुझाव दिएका थिए ।

‘कांग्रेस अहिले प्रमुख प्रतिपक्षी हो तर सबैभन्दा ठूलो दल हो संसद्को सबैभन्दा ठूलो दलले राष्ट्रपतिको चाहाना राख्नु अस्वाभाविक होइन यो विषयमा राष्ट्रिय सहमति भएमा राष्ट्रपतिको विषयमा सोच्न पनि सकिन्छ’, माओवादीका सचिव देवेन्द्र पौडेलले भने ‘ अहिले यसो भन्दैमा यो गठबन्धनबाट बाहिर जानुपर्छ भनेको होइन, जब राष्ट्रिय सहमति भएमा हामी एक ठाउँमा उभिन तयार छौ भनेको हो ।’ प्रचण्डले बैठकमा अहिलेको गठबन्धन सहज नभएको र असजताकैबीचमा काम गर्नुपरेको गुनासो गरेका थिए । धेरै वटा दल भएका कारण गठबन्धन सहज नभएको उनको टिप्पणी थियो ।

माओवादीका सचिव देवेन्द्र पौडेलका अनुसार हिजो (विहिबार) देखि सुरु भएको स्थायी समिति बैठक आज सकिदैछ । प्रधानमन्त्री प्रचण्डलाई आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले राष्ट्रपतिको विषयमा सुझाव दिने भएका छन् ।