राष्ट्रपति कांग्रेसले पाउनु पर्ने, महामन्त्री थापाको दावी

१२ माघ २०७९, बिहीबार १७:२७

शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

आज (बिहीबार) कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक–फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतिमा नै कांग्रेसले राष्ट्रपति पाउनुपर्छ ।’’ निर्वाचनअघि माओवादीसँग गठबन्धन गरिएको आधारमा पनि कांग्रेसले राष्ट्रपतिलाई उम्मेदवार बनाएको व्यक्तिलाई माओवादीले समेत मत हाल्नु पर्छ भन्ने कांग्रेसको धारणा रहेको उनले बताए।

प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि स्वाभाविक रूपमा कांग्रेसको उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा सघाउनु पर्ने थापाको भनाइ छ । उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा पनि कांग्रेसले चाँडै नै निर्णय गर्ने महामन्त्री थापाले बताए। पार्टीका नेताहरूको बीचमा गरिने छलफल कुनै दुई व्यक्तिबीचको सहमति हैन त्यहाँभित्र हुने समझदारी व्यक्तिगत, अपारदर्शी हुनुहुँदैन, र गोप्य हुन नहुने उनको भनाइ थियो ।

‘‘कतिपय कुराहरू रणनीतिक होला तर समझादारीहरु गोप्य हुनु हुँदैन खुला हुनुपर्छ, निजीजस्तो कुरा गर्दा समस्या ल्याउँछ’’ महामन्त्री थापाले भने। एमाले र माओवादीबीच पार्टी एकता भएपछि एमाले माओवादीबीच सम्झौता भएको गोप्य हुँदा समस्या निम्तिएको उल्लेख गर्दै महामन्त्री थापाले नितान्त व्यक्तिगत गर्न थालियो भने दुर्घटना निम्त्याउने बताए।