भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन बनाइनेछ : अर्थमन्त्री

१२ माघ २०७९, बिहीबार १६:३०

आज (बिहीबार) ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताएका हुन् ।

भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन समेत दिएका छन् ।

मन्त्री पौडेलले उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै वैध व्यापारको प्रवर्द्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गरेका छन् । अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको उल्लेख गर्दै तदअनुरुप काम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भन्सार चुहावट नियन्त्रण गर्न कडाइका साथ लाग्नसमेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिएका छन् । प्राचीनकालदेखि राजस्व सङ्कलन र वैदेशिक व्यापारलाई नियमन र सहजीकरण गर्दै आएको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन, नगद कारोबारविहीन र व्यक्तिगत तवरको सम्पर्करहित बनाउँदै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।