आचार्यको परिवारलाई न्याय माग्दै बिहीबार पनि प्रदर्शन

१२ माघ २०७९, बिहीबार १५:३६

बिहीबार पनि संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

उनको परिवारलाई न्याय दिनुपर्ने र आचार्यले उठान गरेका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने भन्दै विहीबार पनि युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले अर्को जल्दो शरीर मेरो नहोस्, गरिखाने की मरिजाने, उद्यमशील नेपाल नारा मात्र हो सरकार ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय बुधबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको थियो।

मंगलबार नयाँ बानेश्वरीस्थत संसद भवन अगाडि सडकमा शरीरमा आगो लगाएर इलामका व्यवसायी आचार्यले आत्मदाहको प्रयास गरेका थिए। बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको थियो।