नेपाली मूलको विदेशी नागरिकको रुपमा लामिछाने हुनुहुन्छ: अधिवक्ता कर्ण

११ माघ २०७९, बुधबार १४:२७

गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्टसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ ।

अब केहीबेरमा प्रतिवादीका तर्फबाट कानुनविदहरुले बहस थालनी गर्नेछन् । अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६ औं दिनमा लामिछानेले नेपालको पासपोर्ट लिएको खुलेको छ ।

तर उनले पछिमात्रै अमेरिकाको पासपोर्ट त्यागेका थिए । लामिछानेले २०७५ जेठ ५ मा नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर नागरिकता त्याग्न लाग्ने दस्तुर बुझाएका थिए ।

त्यसपछिमात्रै उनले अमेरिकी नागरिकता र पासपोर्ट त्याग गरेका थिए । सर्वोच्चमा आजदेखि भएको सुनुवाईमा रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्णले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको हुनाले उनले दल खोल्न र सांसद हुन नपाउने तर्क गरेका थिए ।

अधिवक्ता कर्णले अमेरिकाको नागरिकता त्याग गरेपछि पुनः प्राप्तिको प्रक्रियामा नै नगई नागरिकता प्राप्त नहुने भएकाले उनलाई नेपाली नागरिक मान्न नसकिने तर्क गरेका थिए ।

विधि र कानुन नै पूरा नगरि नागरिकता स्वतः कायम हुन्छ भनि तर्क गर्न नमिल्ने बताएका थिए । “उहाँले त्याग गरेको निस्सा बुझाउन सक्नुभएको छैन,” उनको तर्क थियो, “नेपाली मूलको विदेशी नागरिकको रुपमा लामिछाने हुनुहुन्छ । उहाँले दल खोल्न र सांसद हुन पाउनुहुन्न ।”

अमेरिकाको नागरिकता लिनासाथ नेपालको कायम नरहने उनले बताए।