आगामी फागुन र वैशाखमा तीन – तीन वटा नेपाली चलचित्रबीच भिडन्त हुदै

१० माघ २०७९, मंगलवार १३:१४

आगामी फागुन र वैशाखमा ‘हेभिवेट’ नेपाली चलचित्रबीच भिडन्त हुने देखिएको छ ।

यी दुई महिनामा एकै मितिमा दुई वा दुईभन्दा बढी ठूला ब्यानरका चलचित्रले प्रदर्शन मिति घोषणा गरेका छन् । फागुनको १९ र वैशाख १ गतेका लागि दुई वा दुईभन्दा बढी ठूला ब्यानरका चलचित्रले प्रदर्शन मिति घोषणा गरेका हुन् ।

त्यसभन्दा अघि फागुनको ५ गते पनि हेभिवेट चलचित्रबीच भिडन्त हुने अनुमान गरिएको थियो । उक्त मितिमा नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’, घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’ र रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’ले प्रदर्शन मिति तय गरेका हुन् ।

यद्यपि, यो मितिमा ‘परदेशी २’ र ‘लण्डन टु पेरिस’ प्रदर्शनमा आउने सम्भावना न्यून छ । यी दुई चलचित्र प्रदर्शनमा आउने सम्भावना नदेखिएपछि उक्त मितिमा हेभिवेट भिडन्त टर्ने देखिएको छ ।

फागुनको १९ गते हेभिवेट चलचित्रबीच भिडन्त हुने करिब करिब पक्काजस्तै देखिएको छ । उक्त मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ र निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ले प्रदर्शन मिति घोषणा गरेका छन् । यी दुवै चलचित्र उक्त मितिबाट अघिपछि हुने सम्भावना देखिँदैन । अन्य केही चलचित्रले पनि उक्त मिति तय गरेका छन् ।

यसपछि आगामी वैशाख १ गते ‘हेभिवेट’ चलचित्रबीच भिडन्त हुने देखिएको छ । ठूला ब्रान्डका चार चलचित्रले प्रदर्शनका लागि उक्त मिति घोषणा गरिसकेका छन् । वैशाख १ गतेका लागि ‘भगवत गीता’, ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘जारी’ले प्रदर्शन मिति घोषणा गरेका छन् । झरना थापाको ‘भगवत् गीता’को छायांकन सुरु भइनसकेकाले उक्त मितिमा रिलिजको सम्भावना न्यून छ ।

रामबाबु गुरुङको निर्माण एवं उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन् । यस्तै, ब्रान्ड बनिसकेको नाम ‘नाइँ नभन्नु ल’को छैठौं सिरिजमा आशीर्वाद बराल र आँचल शर्मा मुख्य भूमिकामा छन् । विकासराज आचार्य चलचित्रका निर्देशक हुन् ।

त्यसैगरी सुदर्शन थापाको निर्देशनमा तयार ‘प्रसाद २’मा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । यी तीनवटै आशा गरिएका चलचित्रहरू हुन् । आशा गरिएका चलचित्रहरू एउटै मितिमा आउँदाको असर तीनवटै चलचित्रलाई पर्ने देखिन्छ । एकसाथ प्रदर्शनमा आउँदा मुख्य त चलचित्रको इनिसियल व्यापारमा ठूलो असर गर्छ । त्यस पछाडिको व्यापार भने दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । Lokantar