नेपालीले बुद्ध र लुम्बीनीलाई चिन्न सकेनन्: मन्त्री सुदन किराँती

८ माघ २०७९, आईतवार १८:२६

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपालीले बुद्ध र लुम्बीनीलाई चिन्न नसकेको बताएका छन् ।

आइतबार ललितपुरको झम्सिखेलमा आयोजित दिअर्गनाइजेशन अफ बुद्धिस्ट मोनास्ट्रीज अफ ललितपुर, नेपालको ४७ औं साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाललाई सांस्कृतिक पर्यटकीय राष्ट्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

‘संसारभरि सबभन्दा बढी बुद्ध धर्मावलम्बीहरू छन् । उनीहरूलाई हामीले लुम्बीनीमा ल्याउन सके त्यहाँ पर्यटकहरूमात्रै होइन, बुद्ध दर्शनको थप विस्तार हुनेछ’ किराँतीले भने, ‘पर्यटकको आगमनसँगै देशको आर्थिक उन्नति र मुलुकको समृद्धिमा धेरै ठूलो योगदान पुग्नेछ । जुन देशमा बुद्ध जन्मनुभयो, त्यही देशमा बुद्धलाई चिन्न सकेनौं ।’

कार्यक्रममा मन्त्री किराँतीले प्रकृति र मानव सम्पदाको संयोजन नै आजको पर्यटन हुनुपर्ने बताए ।