छुवाछुत आरोपमा पक्राउ परेका वडाध्यक्ष अधिकारी धरौटीमा रिहा

६ माघ २०७९, शुक्रबार २२:०१

पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा छुटेका छन् । जातीय दुर्व्यवहार तथा छुवाछुत आरोपमा पक्राउ परेका उनी जिल्ला अदालत कास्कीको आदेशपछि १ लाख ५० हजार रुपैयाँ धरौटी राखेर शुक्रबार छुटेका हुन् । न्यायाधीश ऋषिराज आचार्यको इजलासमा बहसपछि धरौटीमा छाड्ने आदेश भएको हो ।

जातीय तथा सामाजिक छुवाछुत र भेदभावसम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारबाही माग गर्दै वडा सदस्य मैयाँ नेपालीले पुस २४ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसको पर्सिपल्ट अधिकार आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए । वडाको बैठकक्रममा वडा सदस्य नेपालीलाई वडाध्यक्ष अधिकारीले जातीय भेदभाव हुने खालका शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ ।