नेपालमा विदेशी लगानीकर्ताले पाए लगानीबापतको ११ करोड ५९ लाख प्रतिफल

६ माघ २०७९, शुक्रबार १९:४४

आर्थिक वर्षको अर्धवार्षिक समय भनेको कम्पनीहरुले आफूले गरेको लगानीबाट हुने प्रतिफल लिने समय हो। यही समयमा नेपालमा लगानी गर्ने विदेशी कम्पनी र लगानीकर्ताले पुस महिनामा ११ करोड ५९ लाख रुपैयाँ प्रतिफल लगेका छन्।

रोयल्टीबापत विदेशी लगानीकर्ताले ३ करोड २१ लाख रुपैयाँ लगेका छन् भने लाभांशबापत ८ करोड ३७ लाख रुपैयाँ लगेको देखिएको हो। यति रकम पुस महिनामा लाने निर्णयसहित सरकारले स्वीकृति दिइसकेको छ। उद्योग विभागबाट भएको स्वीकृतिअनुसार भारु र अमेरिकन डलरमा उक्त प्रतिफल लान दिइएको छ।

विदेशी लगानीको वार्षिक प्रतिफल
विदेशी लगानीकर्ताहरुले नेपालबाट पाउने प्रतिफलमा गिरावट आएको देखिएको छ।नेपालबाट अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष १० अर्ब रुपैयाँ रकम कम विदेश गएको हो।

नेपालबाट अघिल्लो आर्थिक वर्षमा २८ अर्ब रुपैयाँ विदेश गएको थियो। तर गत वर्ष भने जम्मा १८ अर्ब रुपैयाँ हाराहारीमा गएको देखिएको छ।

नेपालबाट विदेश जाँदा भने विदेशी मुद्रामा नै जाने गरेको छ। उक्त रकम नेपाली मुद्रामा मूल्याङ्कन गर्दा १८ अर्ब रुपैयाँ हाराहारीमा गएको देखिएको हो।

गत आवमा १३ अर्ब ६६ करोड रुपैयाँ लाभांशबापत गएको देखिएको छ। त्यस्तै रोयल्टीमार्फत भने ४ अर्ब ६४ करोड रुपैयाँ गएको देखिएको हो।

गत आर्थिक वर्षभरिमा नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँ स्वीकृत गरेको हो। अघिल्लो आर्थिक वर्षमा भने उनीहरुले २८ अर्ब ३ करोड रुपैयाँ लगेका थिए।

नेपाल राष्ट्र बैंकबाट नेपालखबरलाई उपलब्ध तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १ सय २१ पटक रोयल्टी लगेका छन्। १ सय १२ पटक राष्ट्र बैंकले रोयल्टी रकम स्वीकृत गर्दा ४ अर्ब ६४ करोड रुपैयाँ देखिएको हो। त्यस्तै लाभांश विभिन्न कम्पनी गरेर २८ पटक लगेको देखिएको हो। २८ पटकमा १३ अर्ब ६६ करोड रुपैयाँ देखिएको हो।