उपसभामुख पदमा नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दिएकी छन्।
उनले आज संघीय संसद भवन परिसरमा पुगेर उपसभामुखमा उम्मेदवारी दिएकी हुन्। उनको नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला र कांग्रेस सांसद बद्री पाण्डेको समर्थन गरेका छन्।
कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको छ। यादव धनुषाकी हुन्। उनी समानुपातिकतर्फबाट कांग्रेस सांसद बनेकी थिइन्। कांग्रेसको १४ औं महाधिवेशनमा उनले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन्।
यस्तै सत्ता साझेदार दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले उपसभामुख उम्मेदवार दर्ता गराइकी छन् । सांसद राना एनजीओकर्मी पृष्ठभूमिकी हुन् । सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको हो । सोहीअनुसार आज रानाले उम्मेदवारी दर्ता गराएकी हुन्।
शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्नेछ।
