घाइते अवस्थामा अस्पताल तर्फ जाँदै गरेका सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाटै थुतेर राजनीतिको आवरणमा एउटा आपराधिक समूहले पाशविक हत्या गर्यो । युद्धमा पनि घाइतेलाई नियन्त्रणमा लिएर मारिँदैन । मर्न र मार्नकै लागि हुने युद्धमा पनि जे गरिँदैन थियो, २०७२ सालमा महोत्तरीमा एउटा समूहले त्यही गर्यो । थमन विकलाई जनकपुरतर्फ लगिँदै थियो । उनी घाइते थिए । बोल्न सक्ने अवस्थामा थिएनन् । प्रतिकार गर्ने त झनै अवस्था थिएन । एक निरिह सिपाईले मधेसी मोर्चाका कार्यकर्ता कसैको पनि केही बिगारिदिएका थिएनन् ।
घरमा श्रीमती, बुढी भएकी आमा र तीन वर्षका छोरा थिए । त्यही सानो परिवारका लागि उनी सशस्त्र प्रहरीमा जागिरे थिए । उनी मोर्चाका कार्यकर्तासँग मुठभेड गर्न गएका पनि थिएनन् । सुरुमा पनि उनलाई मोर्चाका कार्यकर्ताले नै घाइते बनाए । घाइते अवस्थामा उपचार गर्न जनकपुर तर्फ लैजाने क्रममा उनलाई एम्बुलेन्सबाट थुतेर खेतमा लगेर २८ जनाको समूहले भाटै भाटाले हिकाएर मारे । तर यसलाई नेपालमा राजनीति भन्ने गरिन्छ । एक सामान्य प्रहरीलाई हत्या गर्ने मध्ये कोही मेयर भए, कोही सांसद भए, कोही मन्त्री पनि भए ।
एक जना आरोपी छन् – लक्ष्मी महतो, जो प्रतिनिधिसभामा सांसद भएका छन् । तर अदालतले पक्राउ गरेर थुन्नु भन्ने आदेश दिएको छ । तर नेपाल प्रहरीले उनलाई थुनेको छैन । पक्रेको छैन । आखिर किन ? अब त संसदमा समेत उनलाई पक्राउ किन नगरिएको भन्दै कांग्रेसका सांसदहरुले प्रश्न गरिरहेका छन् । स्मरणीय के छ भने कांग्रेसकै गृहमन्त्री हुँदा पनि लक्ष्मी महतोलाई पक्राउ गरिएको चाहिँ थिएन ।
सशस्त्र प्रहरी बलका सहायक निरिक्षक असई थमन बिकको हत्या अभियोगमा अदालतबाट पक्राउ आदेश जारी भइ हाल फरार रहेका सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपर्दा सरकारमाथि दबाब बढ्न थालेको छ । नेकपा एमालेको तर्फबाट महोत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका महतोलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न जनकपुर उच्च अदालतले ७७ असोज १९ मा आदेश दिएको थियो । सो आदेशपछि महतोलाई एमालेले सांसदको टिकट दियो र उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोख्रेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
अदालतको आदेशबमोजिम थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नु पर्ने अभियुक्तले सांसदका रुपमा पुस ७ मा शपथ लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि सांसद महतो पुस २६ मा संसद पुगे । बिहीबारको संसद बैठकमा पनि उनी संसदमै रहेको दावी गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उनी पक्राउ नपर्नुको कारणबारे प्रश्न उठाए ।
सांसद खतिवडाको प्रश्नको जवाफ गृहमन्त्री रवि लामिछानेले दिएका छन् । उनले फरार सांसद लक्ष्मी महतोको नाम नलिइ नै विधि र पद्धति पालना गर्दै गृहमन्त्रालयले काम गर्ने बताए । यसअघि उनले सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको विषय बाहिरिएको थियो ।
