कृषि विकास बैंकमा अब ‘मातृभूमि वचत खाता’

५ माघ २०७९, बिहीबार १७:१७

कृषि विकास बैंक लिमिटेडले बैंकको ५६ औँ वार्षिकोत्सवको अवसरमा बैंकिङ सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहजता कायम गर्न ‘मातृभूमि वचत खाता’ जारी गरको छ । कृषि विकास बैंकले आफ्नो व्यवसायिक विविधतामा समय सापेक्ष थप तथा परिमार्जन गर्दै आई रहेको अवस्थामा धितोपत्र वोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षण गरेको प्राथमिक निष्कासन हुने सेयर आवेदन गर्न सहजीकरणका लागि बैंकले उच्चतम व्याजदर प्रदान गर्ने गरी सो खाता संचालनमा ल्याएको जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार स्वीकृति पत्र तथा नेपालमा बैंक मार्फत् रकम पठाएको कागजातका अतिरिक्त नेपाली नागरिकताको फोटोकपी लगायत ग्राहक पहिचानका कागजात समावेश गरी खाता खोल्न सक्ने बताइएको छ । यो खाता अनलाइनका माध्यमबाट खोली ग्राहक पहिचान विवरण समावेश गर्न सकिने बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले आर्जन गरेको रकम नेपालको पूँजी वजारमा लगानी गरी देशको पूँजीवजार बलियो वनाउने सरकारी नीतिमा योगदान दिन निक्षेपको यो प्रोडक्ट संचालनमा ल्याएको कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले बताए ।

निक्षेपको यो प्रोडक्टले बैदेशिक रोजगारीमा गएका नेपालीको लागि आरक्षण गरेको सेयर दरखास्त दिन सहज हुने र खाता खोल्ने ग्राहकहरुले अनलाइनका माध्यबाटै मेरो सेयर, डिम्याट तथा सि.आर.एन.नम्वर प्राप्त गर्नेछन् । यो खातासँगै बैंकका निक्षेपका प्रोडक्टहरुमा विविधता कायम भएको छ । बैंकले यसअघि बा–आमा वचत खाता, चेतनशील नारी वचत खाता, समृद्धि वचत खाता, कृषक वचत खाता, एनआरएन वचत खाता, सेयर होल्डर वचत खातालगायतका वचत खाताका प्रोडक्ट पेपर जारी गरी निक्षेप स्वीकार गरिरहेको कुरा बैंकका विभागीय प्रमुख मिनराज पोखरेलले बताएका छन् ।