कर्णालीका मुख्यमन्त्री मन्त्री भएको १० दिनपछि विश्वासको मत शुक्रबार लिने

४ माघ २०७९, बुधबार २१:३३

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री भएको १० दिनपछि विश्वासको मत लिने भएका हुन्।

मुख्यमन्त्री कर्णाली प्रदेश सभा सचिवालयमा मंगलबार साँझ विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ ६ गते दिउँसो एक बजे बस्ने बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गर्ने निर्णय गरेको प्रदेश सभाका सचिवालयका सचिव जीवराम बुढाथोकीले बताए।

‘माघ ६ गते बस्ने प्रदेश सभा बैठकका लागि सोही दिन बिहान बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सूची तय गर्ने निर्णय भएको छ,’ उनले भने, ‘प्रदेश सभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेको ४८ घण्टाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैअनुसार कार्यसूची तयार पारिएको हो।’