नेकपा एमालेले सभामुखको उम्मेदवार सांसद देवराज घिमिरेलाई बनाउने भएको छ ।
प्रतिनिधिसभाको सभामुखका लागि आज दिउँसो ४ बजेसम्मका लागि मनोनयनको दर्ता समय तोकिएको संसद सचिवालयले जनाएको छ । आज सोही समयभित्र दलहरुले सभामुखका लागि उम्मेदवारी दिनुपर्नेछ । नेकपा एमालेले सत्ता पक्षको तर्फबाट देराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागेको हो ।
सरकार गठनअघि नै सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेले पाउने सहमति भएको थियो । एमाले भित्रै पनि सभामुखको दौडमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त विद्या भट्टराईको चर्चा थियो । तर अन्त्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै घिमिरेलाई अघि सारेको बुझिएको छ ।
घिमिरे झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ। यस्तै नेपाली काँग्रेसले भने सभामुखको उम्मेदवारी दिने वा नदिने विषय टुङ्गो लगाउन बैठक बसिरहेको छ ।
सभामुख उम्मेदवारहरुको नामावली पनि आजै प्रकाशन गर्ने तयारी संसद सचिवालयको छ । यदी एक मात्रै उम्मेदवारी परे सोही उम्मेदवारलाई निर्विरो चयन गरिने छ ।
