आर्थिक वर्ष २०७८/७९ को बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) आँधिखोला लघुवित्त वित्तीय संस्था र नेको इन्सुरेन्सको सेयरभाउ समायोजन गरेको छ।
नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता रुपैयाँ नेको इन्सुरेन्सको ७७८.४३ रुपैयाँ र आँधिखोला लघुवित्तको १३६५.७७ कायम गरेको छ। अघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता क्रमशः १७७५.५० र ८९५.२० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्।
आज माघ ३ गते यी दुवै लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोज गरेका छन्। जस्अनुसार पुस २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। साथै माघ २ सरकारले पोखरा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिएकोले सेयर बजार बन्द थियो।
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा यही माघ १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा स्याङ्जाको वालिङ–८ वालिङस्थि होटेल गाउँबेसीको सभाहलमा बिहान ११:३० बजेबाट हुनेछ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई संस्था सेयरपुँजीको ११ करोड ९० लाख रुपैयाँको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लभांशमा ३० प्रतिशतले हुन आउने ३ करोड ५७ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशतले हुन आउने १८ लाख ७८ हजार ९४७.३७ रुपैयाँबराबरको नगद लाभांश छन्।
