भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 

२ माघ २०७९, सोमबार १६:२०

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची बढेर आएको छ। नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढेको हो। नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ ५१ पैसा बढेर आएको छ। तर डिजेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ। भारतले हरेक १५ दिनको अन्तरमा नयाँ मूल्य पठाउने गरेको छ।

भारतमा दैनिक मूल्य परिवर्तन हुने गरेको भनिए पनि नेपालसँगको कारोबारमा १५ दिनमा मात्रै नयाँ मूल्य कायम हुनेछ। जसअनुसार आज १६ तारिखदेखि लागू हुने गरी निगमलाई नयाँ मूल्य पठाएको हो। नयाँ मूल्यअनुसार निगमले भुक्तानी दिनुपर्नेछ। उपभोक्ता मूल्यमा भने परिवर्तन गर्ने वा नगर्ने निर्णय निगमले गरेको छैन। दुई हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान रुपैयाँ तथा हवाइ इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो।