सुन्तलाको उत्पादन बढेपनि किसानले पाएनन् उचित भाउ

२ माघ २०७९, सोमबार १४:५१

गुल्मीमा गतवर्ष भन्दा यसवर्ष झण्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । अहिले कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यहाँ कुल सुन्तला बगैंचा क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा फलेका थिए।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले दिएको जानकारी आनुसार उत्पादनशील क्षेत्रफलमा वृद्धि, फल बाक्लो लाग्नु, बगैचा व्यवस्थापनमा सचेतना बढ्दै जानु, मौसम अनुकुल हुनु, फल्ने बोटको वृद्धिसँगै सुन्तला उत्पादनमा पनि वृद्धि भएको हो। विगत दश वर्षदेखि सुन्तला बगैंचा व्यवस्थापनमा गरिएका असल कृषि अभ्यासका कारणले अहिले २९ करोड ३७ लाख बराबरको सुन्तला उत्पादन भएको केन्द्रको भनाइ छ ।

सुन्तला उत्पादनमा वृद्धि भए तापनि कृषकहरुले सोचेजस्तो मूल्य नपाएको गुनासो उनीहरुको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका –१, नयाँगाउँ सुन्तलाका लागि प्रसिद्ध मानिन्छ । अहिले यहाँबाट दुई करोड बढीको सुन्तला उत्पादन भएको छ । उमेरले ३७ बर्षकी स्थानीय मीना घिमिरेले सुन्तला उत्पादनमा वृद्धि भए पनि सोचेजस्तो मूल्य नपाएको गुनासो गरेकी छन्। “मेहनत अनुसारको मूल्य पाउन सकिएको छैन, मूल्य नपाउँदा किसान मर्कामा छौं” उनले भनिन् “उत्पादन भएका सुन्तला स्थानीय ठेकेदारले खरिद गरी बुटवल लैजान्छन्, हामी उनीहरुकै भाउमा सुन्तला बेच्न बाध्य हुन्छौं ।”

अर्का स्थानीय पिताम्बर कोइरालाले २०४६ सालबाट सुन्तला खेती सुरु गरेका थिय। विगतमा भन्दा अहिले सुन्तला उत्पादन बढेको तर, उत्पादन अनुसारको मूल्य नपाएको उनको गुनासो छ। करिब ५० वटा बोटबाट सुन्तला खेती सुरु गरेकोमा अहिले डेढ सयभन्दा बढी विरुवा छन् । पहिले वीजु बिरुवा उत्पादन गरी बिक्री गर्दै आएका उनि अहिले कलमी बिरुवा उत्पादन गर्छन । अझै उनले अहिले कागती दुई हजार र सुन्तला एक हजार बिरुवा उत्पादन गरेको बताए।

स्थानीय मीनप्रसाद पोखरेलले पनि यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजार मूल्य भने सोचेजस्तो नभएको गुनासो गरे  । उहाँले उचित मूल्य नपाएको भन्दै स्थानीय तहले बजारीकरणका लागि प्रबन्ध मिलाई दिनुपर्ने समेत बताए । आम्दानीको मुख्य स्रोत नै सुन्तला भएको उनको भनाइ  छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाईले सुन्तला उत्पादक कृषकहरुको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम गर्दैआएको छ । नयाँ गाउँलाई पकेटक्षेत्र नै बनाएर काम गरेको परियोजना कार्यान्वयन इकाई प्रमुख गंगाकुमारी पोखरेलले बताए। बजारको सुनिश्चित्ता र कृषकले उचित मुल्य प्राप्त गर्नेगरी विभिन्न निकायसँग समन्वय गर्ने उनले बताए।