सरकारले भोलि शोक बिदा दिने

१ माघ २०७९, आईतवार १५:२०

सरकारले भोलि (सोमबार) शोक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हो ।

सकारका प्रवक्ता एवम् उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले सो कुराको जानकारी दिए । बैठकले गरेको निर्णयबारे जानकारी दिनुहुँदै मन्त्री पौडेलले भने, “घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रद्धाञ्जलि र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’’

यसैगरी, मन्त्रिपरिषद् बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।