नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले मधेश प्रदेशसभाको सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेक अन्य राजनीतिक दलहरुले एमालेका मण्डललाई समर्थन गरेका छन् ।मधेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सत्तारुढ गठबन्धनको भागवण्डामा सहमति भएको थियो। सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।
प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।
