जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्वराज्यमन्त्री ताईरा मासाकीसहितको प्रतिनिधिमण्डलले नेपालमा उच्चस्तरीय भेटवार्ता गरेको छ । टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्चपदस्थ नेताहरुसँग भेटवार्ता गरेको हो ।
नेपाल–जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीय टोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी छलफल गरेकोहो। उक्त भेटका अवसरमा प्रधानमन्त्री दाहालले जापान नेपालको सबैभन्दा पुरानो मित्ररहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रुपमा सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए।जापान सरकारसँगै जाइकालगायतका संस्थाबाट नेपालले धेरै सहयोग पाएको उनको भनाई थियो ।
यस्तै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा पार्टी अध्यक्ष देउवाले जापानले नेपालको विकासमा लामो समयदेखि निरन्तर सहयोग गर्दैआएकामा धन्यवाद दिएका थिए। देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भुकम्प, बाढीपहिरो लगायतका दैविप्रकोपकाघटनामा पनि जापानले मनखोलेर सहयोग गर्दै आएको जानकारी पनि दिए।
सांसद मासाकीको टोलीले शुक्रबारनै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि भेटेको थियो। उक्त भेटमा मासाकीले नेपालको छिमेकी मलुक भारतले विभिन्न परियोजनाका लागि जापानबाट सस्तो व्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए। उनले जापानबाट यस्तो ऋण लिनका लागि पहल गर्न नेपाललाई आग्रह गरेका थिए। त्यस अवसरमाअर्थमन्त्री पौडेलले विकास आयोजनाहरुमा स्रोत अभावरहेको जानकारी दिंदै जापानको सस्तोदरको ऋण सहयोग लिन आफूले तत्काल पहल गर्ने बताएका थिए।
यस्तै टोलीले बिहीबार दुई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालसँग पनि भेट गरेको थियो।
