प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिने दिन नेप्से परिसूचकमा तिव्र उतारचढाव देखिएको छ। यस दिन मध्यान्हसम्ममा ६५ अंकभन्दा बढी बढेको नेप्से, अन्तिम समयमा भने घटेर बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक २१.३५ अंक घटेर २१९०.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि यस दिन ११ महिना यताकै उच्च कारोबार भएको छ। यस दिन २५४ स्टकको १ लाख ९ हजार ९६७ पटकको कारोबारमा ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस अघि २०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात यस दिन सर्वाधिक कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने रिडी पावरको १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ४० पैसा बढेर ३१२ रुपैयाँ ७० पैसा पुगेको छ। त्यसैगरी, यस दिन सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिब ९ प्रतिशत घटेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.३१ प्रतिशत घटेको छ। त्यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
