नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदै छन् ।
प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादी पार्टीले पनि विश्वासको मत दिने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान बसेको बैठकले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको हो ।
‘बैठकले शर्तसहित समर्थन गर्ने भन्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन्छ’ खतिवडाले भने, ‘हाम्रा एजेन्डाहरू राखिनेछन् । ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्कनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ ।’
राष्ट्रियता, सुशासन, बिग्रिंदै गएको अर्थतन्त्र र राष्ट्रिय महत्वका विषय आफ्ना एजेन्डा रहेको खतिवडाले बताए । नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसद सहित १६९ जना सांसदको समर्थनमा पुष ११ गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
