सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्ने ओलीको दावी

२५ पुष २०७९, सोमबार १०:५८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन गर्दै उनले पुष २६ गते मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता कार्यकर्तालाई ढुक्क रहन आग्रह गरेका हुन् ।

‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, उनले भने । अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए ।

‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्‍याउने एमाले हो । एमालेले कसैले नसोचेको अवस्थामा पुर्‍याउन सक्छ’, उनले भने । उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए ।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए । ‘निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन्’, उनले भने ।