नाबालिग किशोरीमाथी जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार भएका वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु श्रेष्ठलाई नाबालिग किशोरीमाथी जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार भएका उनले आइतबार राति निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन्।
किशोरीको परिवारले असोज २५ गते निजगढस्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठ फरार रहेका थिए। श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको छ।
वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्दै किशोरीको परिवारले प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठको खोजी गरिरहेको थियो।
करणी गरेको आरोप लागेपछि फरार भएका वडाध्यक्ष श्रेष्ठ आँफै सम्पर्कमा आएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले बताएका छन्। गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
