जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ । त्यो भन्दा अर्को कठिनाइ हो, टन्सिलाइटिस ग्रन्थीमार्फत हानिकारक ब्याक्टेरिया शरीरभित्र पुग्छ ।
वास्तवमा यो त्यस्तो ग्रन्थी हो, जसले सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा गर्छ । मुखबाट शरीरमा जाने ब्याक्टेरिया रोक्ने काम यसले गर्छ । तर, जब यो ग्रन्थी नै संक्रमित हुन्छ भने, त्यसले शरीरमा कति जटिल समस्या निम्त्याउँछ ?
टन्सिल हुँदा के गर्ने, के नगर्ने ?
१. टन्सिल भएपछि आराम गर्नुपर्छ । किनकि, यस समय थकान र कमजोरी महसुस हुन सक्छ ।
२. तातो कुराहरू खानुपर्छ । तातो पानी पिउनुपर्छ ।
३. भिडभाड हुने स्थल, जस्तै– स्कुल वा कार्यालय जान हुँदैन । किनकि, तपाईंबाट अरूमा संक्रमण सर्न सक्छ ।
४. धूम्रपान र मदिरा सेवन गर्नुहुँदैन ।
५. सरसफाइमा ध्यान दिनुपर्छ ।
६. धुलोधुवाँबाट बच्नुपर्छ ।
७. टन्सिल भइरहन्छ, बल्झिरहन्छ भने नाक, कान, घाँटीरोग विशेषज्ञसँग सम्पर्क गर्र्ने र चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।
यस्ता खानेकुराबाट टाढा रहनुस्
टन्सिल भएका वेला सुक्खा र कडाखाले खाद्यपदार्थ सेवन गर्न गाह्रो पर्छ । यसलाई निल्न गाह्रो हुन्छ र गलामा दुखाइ हुन सक्छ । चिप्स, पकौडा, समोसाजस्ता जंकफुडबाट टाढै बस्नुपर्छ ।
यसले टन्सिलमा दुखाइ थप्न सक्छ । बासी खानेकुरा खानुहुँदैन । दही, चिसो दूध, चिसो पानी, आइसक्रिमलगायत चिसो खाद्यवस्तु नखानुस् । मसालेदार भोजन नगर्नुस् । किनकि, यसले गर्दा गला सुन्निन सक्छ र दुख्छ । गोलभेँडा सेवन नगर्नुस्, किनकि यसमा अक्सालिक एसिडको मात्रा अधिक हुन्छ र यसले टन्सिल दुख्ने समस्या हुन सक्छ ।
टन्सिलको घरेलु उपचार गर्ने उपायहरु यसप्रकारका छन् ।
१. नुन मिश्रति तातो पानीले कुल्ला गर्नेः टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने । र, त्यसले दिनमा तीन(चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।
२. बेसार पानी खानेः बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं ।बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ ।
३. तुलसी चपाउनेः तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ ।
४. मह र दालचिनीः दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लािग अलिकति दालचिनी पिस्नुस । त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।
५.हर्बल चिया: हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ । यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ । हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ ।
६. यसो चाहि नगरौंः टन्सिलको समस्या प्राय औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिल भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ । यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।
