नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकारमा कुन पार्टीबाट को मन्त्री बन्ने छलफल भइरहेको छ ।
सत्तारुढ गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेले चार जना मन्त्री सरकारमा पठाइसकेको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित राजेन्द्रकुमार राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ खाइसकेका छन् ।
यी बाहेक एमालेले पदम गिरी, विद्या भट्टराई, भगवती चौधरी, टोपबहादुर रायमाझी, देवराज घिमिरे र रघुवीर महासेठलाई मन्त्रीको सूचीमा राखेको छ । यद्यपि अध्यक्ष ओलीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे केही शीर्ष नेतासँग सामान्य छलफल गरे पनि पार्टी कमिटीमा ठोस छलफल हुन बाँकी नै रहेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ ।
‘अध्यक्षले समय पनि पाउनु भएको छैन । तर उहाँले लिएको निर्णयले मुलुकले निकास पाउँछ भन्ने देखिएको छ । यो राम्रो पक्ष हो’, उनले भनिन, ‘अव बिस्तारै पार्टीमा पनि छलफल होला सबै सत्ता साझेदार दललाई मिलाएर लैजानु नै अहिलेको महत्त्वपूर्ण काम हो ।’
सत्ता गठबन्धनमा आबद्ध सात दलमध्ये राप्रपा र जसपा सरकारमा जाने नजाने निर्णय भैनसकेकाले उपप्रधानमन्त्री पाएकाबाहेक अन्य मन्त्रीको मन्त्रालय तोकिएको छैन । सोही कारण जनमतका अब्दुल खानको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तय भए पनि उनलाई समेत जिम्मेवारी तोकिएको छैन ।
