मंगलबार (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बैंकको १३.३० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३०३ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार बैंकको शेयर प्रतिकित्ता ३४४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
बैंकले पुस २५ गते, सोमबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा।लि।, मणिग्राम, रुपन्देहीमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले शेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन सम्बन्धी आवश्यक कार्यहरु गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।
