नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै सत्ता गठबन्धनबाट सरकार बन्ने बताएका छन् ।
पहिलो कार्यकालको प्रधानमन्त्री को भन्नेबारे छलफल चलिरहेको उनले बताए । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनको सरकार बन्ने बताएका हुन् ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो, सबै प्रक्रिया सहज ढंगले भयो । आज शपथ पनि राम्रोसँग बडो उत्साहसाथ भयो । सरकार पनि त्यसैगरी बन्छ र काम अगाडि बढ्छ’, प्रचण्डले भने ।
पहिलो कार्यकालको प्रधानमन्त्री तपाईं कि शेरबहादुर देउवा भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘हामी छलफलमा छौँ ।’
