तुहियो एमालेको सरकारमा जाने सपना

७ पुष २०७९, बिहीबार १३:५१

नेपाली कांग्रेसकोे संसदीय दलको नेताको रुपमा सभापति शेरबहादुर देउवा भारी मतान्तर सहित निर्वाचित भएका छन् ।

पार्टी संगठनमा बलियो पकड राखेको भनिएका महामन्त्री गगन थापाको संसदीय दलको निर्वाचनमा भने फितलो प्रभाव देखा परेको छ । एकातर्फ गगन थापाको संसदीय दलको नेतामा चुनिने सपना तुहिए जस्तै अर्काे तर्फ नेकपा एमालेको पनि सरकारमा जाने सपना तुहिएको छ ।

गगन थापा संसदीय दलको निर्वाचनमा निर्वाचित भएमा नयाँ सत्ता समिकरण हुने एमालेको आंकलन थियो । यसै अनुरुप एमालेले निरन्तर नेकपा माओवदी केन्द्रसँग भेटवार्ताको क्रमहरु जारी राखिरहेको थियो । तर, कांग्रेसको संसदीय दलको नेतामा सभपति देउवा निर्वाचित भएसँगै माओवादी नयाँ समिकरणमा जाने सम्भावना नरहेको बुझिएको छ ।

सरकारको समिकरण कसको हुने, प्रथम चरणमा सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा अझै छलफलकै क्रममा रहेको र टुँगो नलागेको माओवादी केन्द्रका एक उच्च नेताले बताएका छन् ।