नेपाली कांग्रेसलाई अब एकढिक्का र सबैलाई मिलाएर अगाडि बढ्ने संसदीय दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाले बताएका छन्।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया देउवाले भने, ‘अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजान्छौं। सबैलाई मिलाएर लैजान्छौं।’
आज सम्पन्न संसदीय दलको निर्वाचनमा देउवा ६४ मतसहित विजयी भएका छन्। कुल ८९ मध्ये इतर समूहका उम्मेदवार गगन थापाले २५ मत ल्याए।कांग्रेसको संसदीय दलको चुनावमा पराजित थापाले विजयी उम्मेदवार शेरबहादुर देउवालाई बधाइ दिएका छन्। उनले अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन देउवालाई शुभेच्छा दिए।
उनले निर्वाचन परिणामलाई स्वीकार्दै सांसद र महामन्त्रीको भूमिका प्रभावकारी रूपमा अघि बढाउने बताए। अपेक्षाभन्दा कम मत पाए पनि संसदीय दलमा उठेर मतदातासँग व्यक्त वाचा पूरा गरेको थापाले दाबी गरे।
देउवा यो जितसँगै अब छैटौं पटक प्रधानमन्त्री हुने दौडमा छन्। कांग्रेसले केन्द्रीय कार्यकारिणी समिति बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय भइसकेको छ।
