मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल सन्यास नलिने

४ पुष २०७९, सोमबार १५:४४

फिफा विश्वकपको २२औं संस्करणपछि सन्यास लिने सोचमा रहेएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल सन्यास नलिने बताएका छन् । आइतबार राति भएको फाइनल खेलपछि मेस्सीले आफूले अझै विश्व विजेताको रुपमा केही खेल खेल्ने बताएका हुन् ।

यसअघि मेस्सीले कतार विश्वकप आफ्ना लागि अन्तिम हुने घोषणा गरेका थिए । ‘‘मैले भर्खर यो उत्कृष्ट ट्रफी जितेको छु । यो सुन्दर ट्रफीका लागि हामीले धेरै मिहेनत गरेका छौं । म अझै विश्व विजेताको रुपमा केही खेल्न र जित्न चाहन्छु,’’ मेस्सीले भने।

यसअघि सन् २०१४ मा आफ्नै कप्तानीमा विश्वकपको फाइनलामा जर्मनीसँग पराजित भएपछि मेस्सीले सन्यास लिने घोषणा गरेका थिए। तर विश्वभरका फुटबल समर्थक र अर्जेन्टिनाकै राष्ट्रपतिले आग्रह गरेपछि मेस्सीले सन्यास फिर्ता लिएका थिए।

३५ वर्षीय मेस्सीले आफ्ना लागि विश्वकप उपाधि जीवनको सबैभन्दा ठूलो सफलता भएको समेत बताए। ‘‘म भगवानलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई सबैथोक दिनुभयो ।खेल जीवनको अन्त्यतिर जुरेको यस विशेष क्षणप्रति धेरै आभारी छु । मैले कोपा अमेरिका कप जिते र यो विश्वकप पनि जिते । एउटा खेलाडीले यो भन्दा धेरै के नै अपेक्षा गर्न सक्छ र । म मेरा टोलीका सबै सदस्यलाई धन्यवाद दिन चाहन्छु,’’ मेस्सीले भने।

मेस्सीले कतार विश्वकपबाट विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको नयाँ कीर्तिमानसमेत रचेका छन् । उनी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक १३ गोल गर्ने खेलाडी समेत बनेका छन्। फिफा विश्वकपको फाइनलमा दुई गोल गरेका मेस्सीले सात गोल गर्दै सर्वोत्कृष्ट खेलाडीको पुरस्कारस्वरुप ‘गोल्डेन बल’ उपाधि समेत जिते।

फुटबल खेलमा सबै खाले उपाधि जित्नु मेस्सीका लागि बाँकी उपाधि यही विश्वकप थियो । उनले यसको सपना समेत पूरा गर्दै आफूलाई विश्वकै महान खेलाडीको रुपमा उभ्याएका छन् । अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सी प्रेरित अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि चुमेको हो ।

मेस्सीलाई पेले र नेयमारको बधाई

विश्वकप उपाधि चुम्न सफल अर्जेन्टिना र मेस्सीलाई ब्राजिलका महान खेलाडी पेले र नेयमारले बधाई दिएका छन्। हाल उपचार गराई रहएका ८२ वर्षीय पेलेले समाजिक सञ्चाल इन्स्टाग्राममार्फत विश्वकपमा च्याम्पियन बनेको अर्जेन्टिना र लियोनल मेस्सीलाई बधाई दिएका हुन्।

उनले मेस्सीलाई बधाई दिँदै दिवंगत डिएगो म्याराडोना यस उपाधिबाट हाँसिरहेको हुन सक्ने बताए। पेलेले मेस्सीले पहिलो पटक विश्वकप जितेको र यसका लागि उनी योग्य रहेको पनि उल्लेख गरेका छन्।

यसअघि सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन म्याराडोनाको ठूलो भूमिका रहेको थियो । म्याराडोनाको दुई बर्षअघि मृत्यु भएको थियो । विश्व फुटबलमा म्यारोडोना र ८२ वर्षीय पेलेमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद अहिले पनि जारी छ ।

यस्तै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएपछि ब्राजिल एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का सहकर्मी नेयमारले पनि मेस्सीलाई समाजिक सञ्जाल इन्स्टाग्राममार्फत बधाई दिएका छन्। नेमारले मेस्सीलाई ‘बधाई ब्रदर’ भन्दै छोटो सन्देश लेखेका छन् । उपाधि दावेदार ब्राजिल यसपटक क्वार्टरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा ४–२ गोलले पराजित हुँदै घर फर्किएको थियो ।

एमबाप्पेले राष्ट्रको गौरव बढाए: राष्ट्रपति म्याक्रोन

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले कतार विश्वकपमा युवा स्टार केलियन एमबाप्पेले असाधारण प्रदर्शन गरेर राष्ट्रको गौरव बढाएको बताएका छन् । आइतबार भएको विश्वकपको फाइनलमा २३ वर्षीय एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हाफको अन्तिममा खेललाई बराबरीमा ल्याएको थियो ।

एमबाप्पेले अतिरिक्त समयमा समेत बराबरी गोल गर्दै ह्याट्रिक पूरा गरेका एमबाप्पेले फ्रान्सलाई उपाधि दिलाउन भने सकेन। विश्वकपको फाइनल खेलमा ह्याट्रिक गर्ने एमबाप्पे दोस्रो खेलाडीसमेत बनेकोछ । यसअघि सन् १९६६ को फाइनलमा इङ्ग्ल्यान्डका जेफ हर्स्टसले जर्मनीविरुद्ध (तत्कालीन पश्चिम) ह्याट्रिक गरेको थियो । टाइब्रेकरमा फ्रान्स ४–२ गोलले स्तब्ध बन्दै उपविजेता बने पनि उमबाप्पेको प्रदर्शनले विश्वभरका सर्मथकको मन जित्न सफल भयो ।

‘‘एमबाप्पेको प्रदर्शन असाधारण रह्यो, हामी हारको नजिक थियौं । तर एमबाप्पेले टोलीलाई खेलमा फर्काए । यस्तो प्रदर्शन फुटबलमा कमै देख्न पाइन्छ,’’ फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने। फाइनलमा फ्रान्स पराजित भएपछि टोलीलाई सान्त्वना र हौसला दिन राष्ट्रपति म्याक्रोन मैदानमै प्रवेश गरेका थिए । कतार विश्वकपमा सर्वाधिक आठ गोल गरेका एमबाप्पेले ‘गोल्डेन बुट’ अवार्ड पाए। एमबाप्पेको सहभागितामा फ्रान्सले सन् २०१८ को विश्वकप जितिसकेको छ । एजेन्सी