मुलुक अस्थिरताको भुमरीमा फस्छ: पोखरेल

४ पुष २०७९, सोमबार १५:१७

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरिया मध्यम वर्ग अस्थिरताको कारक भएको टिप्पणी गरेका छन् ।

सोमबार नेपाल नगरपालिका संघले गरेको कार्यक्रममा उनले स्थानीय चुनाव र प्रतिनिधिसभा चुनावको मतपरिणामले शहरिया मध्यम वर्गमा विचलन देखिएको पुष्टि हुने बताएका हुन् ।

उनले कार्यक्रममा सहभागी नगरपालिकाका जनप्रतिनिधिलाई सम्बोधन गर्दै भने, ‘आज अस्थिरता कसका माध्यमबाट भइरहेको छ भन्दाखेरि शहरिया मध्यम वर्ग सबभन्दा ज्यादा असन्तुष्ट भइराखेको छ, नेपालको राजनीतिक प्रणालीप्रति । त्यो कसको मातहतमा छ भन्दाखेरि तपाईहरु नेतृत्वको मातहतमा छ । तपाईहरुले उनीहरुलाई सन्तुष्ट गर्न सक्नुभयो राजनीतिक स्थिरतातर्फ हामी मुलुकलाई लैजानसक्छौँ । तपाईले आफ्नो ठाउँको जनतलाई सन्तुष्ट पार्न सक्नुभएन भने मुलुक अस्थिरताको भुमरीमा फस्छ ।’

शहरिया मध्यम वर्गमा परिवर्तन भन्दा पनि विचलन देखिएको भन्दै महासचिव पोखरेलले यस्तो व्यवहारले स्थायीत्वलाई खल्बल्याउने काम गरेको आरोप लगाए । ‘शहरिया मध्यम वर्गमा सांस्कृतिक अतिवादतर्फ एउटा । अर्को सांस्कृतिक स्वच्छन्दतातर्फ अर्को जमात तयार हुँदैछ । दुवै चिजहरु समाजको स्थायित्व, शान्ति र विकासका लागि साधक होइन । आज शहरिया मध्यम वर्गभित्र जुन प्रकारको विचलन देखा परेको छ । त्यो परिवर्तन होइन । विचलन हो’ उनले भने ।