कतारमा चलिरहेको विश्वकपको आइतबार सकिएको छ । फाइनलमा अर्जेन्टिना र फ्रान्स भिडेको थियो ।
अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।
विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।
फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।
तर कतारमा सम्पन्न २२औं संस्करणको विश्वकप ट्रफी उचाल्दै मेसीले अब भने पेले र म्याराडोना जस्ता महान खेलाडीको सूचीमा आफूलाई उभ्याए ।
पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएपछि रोनाल्डोको विश्वकप उचाल्ने सपना पूरा भएन । उनी यसअघि पनि विश्वकपको उपाधि नजिक कहिल्यै पुगेनन् ।
तर मेसीले सन् २०१४ मा पनि अर्जेन्टिनालाई फाइनल पुर्याउँदा जर्मनीसँग पराजित भएको थियो । यो अवधिमा मेसीकै करियरमा पनि धेरै उतारचढाव आए । लगातार फाइनलमा पुग्दै असफल हुँदा उनले राष्ट्रिय टिमबाट सन्यासकै घोषणा गरे । तर विश्वभरका फुटबल समर्थकदेखि अर्जेन्टिनाकै राष्ट्रपतिले समेत आग्रह गरेपछि मेसीले सन्यास फिर्ता लिएका थिए ।
विश्वकप जितेपछि मेसीले सबैको मुख बन्द गरेका मात्र छैनन् । आफूलाई इतिहासकै महान खेलाडीको सूचीमा समेत सामेल गराएका छन् । यस्तै कसले जित्ला विश्वकप भन्ने सबैको चासोको विषय बनिरहेका बेला नेपालमा भने एक युवाले लियोनल मेस्सीको ग्रहशान्तिको पूँजा गरेका थिए।
मेसीका नाममा हेटौँडा ११, स्थित नवलपुरका सागर घिमिरेले मेस्सीको नाममा शनिबार घरमै पूजा लगाएका थिए । विश्वकपमा अर्जेन्टिनाको जित होस् र मेसीले जादुमय खेल देखाउन सकुन भनेर उनले पूजा लगाएका थिए।
समय चक्रमा ग्रहहरूका कारण गर्न खोजेका काममा वाधा अड्चनहरू आउने र सोचेको कामहरू नबन्ने भएकाले मेसीको ग्रह पूजा गरेको घिमिरेले बताएका थिए।
पूजा पण्डित बासुदेव आचार्यले गरेका थिए। मेसीले कतार विश्वकप उपाधि पाएसँगै उनको मनौकांक्षा पुरा भएको छ ।
