जनतालाई सचेत गराउन नसक्नु मेरो कमजोरी हो: ओली

३ पुष २०७९, आईतवार १२:५९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सचेत गराउन नसक्नु आफ्नो कमजोरी रहेको बताएका छन् ।

गणेशकुमार जिसीद्वारा लिखित पुस्तक ‘अरनिको एसिया एक प्रस्तावना’ को विमोचन र पुस्तक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा अध्यक्ष ओलीले आफूले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा चाहेको भए पनि जनतालाई बुझाउन नसकेको बताएका हुन् ।

‘चुनावको परिणाम हेर्दा अनेकअनेक झालझेल भए । नेपाली समाजलाई जुन दिशामा लैजानुपर्थ्यो, त्यसका लागि जनतालाई सचेत बनाउनु पर्थ्यो । ठूलो पार्टीको अध्यक्षको हैसियतले मैले सकिनँ । यो मेरो प्रमुख कमजोरी हो,’ उनले भने ।

जनता सचेत बनाउन नसक्दा सरकार बन्ने पक्रियाका लागि मान्छेहरू कुदाकुद गरेको पनि ओलीको भनाइ थियो । ‘विचरा गठबन्धनले सरकार बनाउन साथी खोजिरहेको छ । अझ ठूलो गठबन्धन बनाउन खोज्दै छ । बनिहाले पनि सरकार कसरी बनाउला ? अहिले पोलिटिकल भाउ महँगो भएको छ । अहिले अवस्था जटिल थप जटिल देखिएको छ,’ उनले भने ।