अध्यादेशमार्फत रेशम चौधरीलाई छुटाउन खोज्नु गलत हो: गगन थापा

२६ मंसिर २०७९, सोमबार १५:३०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अध्यादेशमार्फत नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई छुटाउन खोज्नु गलत भएको बताएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ अध्यादेश ल्याएपछि थापाले अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत रहेको उल्लेख गरेका हुन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शत प्रतिशत सही छ। यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ।अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अतस् सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ:
अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।
अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी वढाउन सक्छ।
अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।”