एमालेका नेता मण्डल कांग्रेस प्रवेश गर्ने कुरा असत्य

२५ मंसिर २०७९, आईतवार १४:४७

नेकपा एमालेका नेता योगेन्द्र मण्डलले कांग्रेस प्रवेश गर्न लागेको भन्ने कुरा असत्य भएको बताएका छन् ।

जसपाको उम्मेदवार राजकुमार यादवलाई एमालेले समर्थन गरेपछि उनी स्वतन्त्र उम्मेदवार बनेर मोरङ ५ बाट प्रतिनिधिसभामा भारी मतले विजयी भएका थिए। काँग्रेस प्रवेश गर्न लागेको चर्चा चुलिए पनि उनले भने उक्त हल्ला निराधार र असत्य रहेको बताएका छन् ।

उनले भने, ‘मेरो सबै पार्टीसँग सम्बन्ध राम्रो छ, काँग्रेसमा प्रवेश गर्न लाग्यो भनेर हल्ला भएको मैले पनि सुनेको छु, यो असत्य कुरा हो। म काठमाडौं गएर सबै पार्टीका अध्यक्षहरूलाई भेट्ने योजना बनाएको छु । अहिले पनि सबै पार्टीका नेताहरूले भेटका लागि निमन्त्रणा गरिरहनुभएको छ । काठमाडौं गएर भेट्छु ।’ आफूले जनतासँग गरेको प्रतिबद्धता पुरा गर्न तयार हुनेलाई भने सरकार गठनको लागि बाहिरै बसेर समर्थन गर्ने पनि उनले बताए । नेताहरूलाई भेटेर आवश्यक सल्लाह, सुझाव लिने पनि उनले बताए ।

मण्डलले निर्वाचनको समयमा काँग्रेस नेता डा.शेखर कोइराला, अमृत अर्याल लगायतसँग काँग्रेस प्रवेश गर्ने गरी सहमति गरेको चर्चा छ । त्यसबारेमा भने मण्डलले आफूले कसैसँग निर्वाचनको बेला नभेटेको र कुनै सहमति नभएको पनि बताएका छन् ।

‘निर्वाचनको समयमा मैले कसैसँग भेटिन,’ मण्डलले भने, ‘त्यस्तो मौका पनि मिलेन, म बिहान ७ बजेदेखि राती ११ बजेसम्म चुनावी अभियानमै हुन्थेँ । फोनमा भने सबैसँग एक आपसमा सहयोग माग्ने, अनुरोध गर्ने काम हुन्थ्यो ।’