यी विषयहरुमा सहमति भए रास्वपा सरकारमा जाने

२५ मंसिर २०७९, आईतवार १३:०८

राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको छ ।

सो पार्टीले सरकारमा सहभागी हुने तयारी समेत गरेको छ । गठबन्धनका दुवै नेताहरुसँग अनौपचारिक छलफल भइरहेको एक प्रभावशाली नेताले बताएका छन्।

पार्टीभित्र भइरहेको छलफलमा पनि रास्वपा सरकारमा जाने विषयमा कुराकानी भइरहेको उनले बताए। जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

उनले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको बताए ।

उनले भने, “हामी मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुनेछौँ, उदाहरणका लागि सयवटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँचवटा कानुन आउनुपर्‍यो । मन्त्रिपरिषद्ले पारित गर्ने सय एजेन्डामध्ये १० वटा एजेन्डा रास्वपाको प्रस्ताव अनुरुप हुनुपर्‍यो ।”

यी विषयहरुमा सहमति भयो भने जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा सहभागी हुने तयारी गरेको उनले बताए ।

नयाँ सरकार गठनका क्रममा माओवादी एमाले होस् वा कांग्रेस माओवादी वा कांग्रेस एमाले र मधेस केन्द्रित जुनसुकै दलकाबीच पनि सरकार गठनअघि हुने सहमति सम्झौतामा जनताकै लागि काम गर्ने गरी सम्झौता गर्ने र त्यसलाई सार्वजनिक गरेर सरकारमा सहकार्यको औचित्व पुष्टि गरिने उनीहरुको धारणा छ ।

प्रवक्ता ढकालले अब उधारो सम्झौता गरेर जनतालाई ढाँट्ने काम बन्द हुनुपर्ने भन्दै दलहरुका घोषणपत्रका राम्रा पक्ष कार्यान्वयनका लागि नियम र संरचना पनि अघि बढाउनेगरी मात्र सरकारमा सहभागी हुने बताए ।