एमाले मात्रै कम्युनिष्ट हो: विष्णु पौडेल

२३ मंसिर २०७९, शुक्रबार १७:२८

जनताले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन्।

रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पौडेलले जनादेशको सम्मान गर्दै एमाले यसपटक प्रतिपक्षमा बस्ने शुक्रबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै बताएका हुन्।

कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौं भन्ने एमालेको अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरुमा पार्न सत्तामा रहेका दलहरुले गठबन्धन गरेकाले केही सिट कम आएर एमाले दोस्रो बन्न पुगेको उल्लेख गरे। ‘जनमतको हिसाबले एमाले एक नम्बर पार्टी हो’, पौडेलले भने, ‘एमालेलाई रोक्नका लागि गरिएका प्रयास असफल भएको छन्।’

नेकपा माओवादी केन्द्र र अन्य दलसँग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको बताए।

‘वामपन्थीबिच सहकार्यको प्रश्नै छैन। एमाले मात्रै वामपन्थी पार्टी हो अनि को सँग सहकार्य ? पौडेलले प्रश्न गरे।

पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरू पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए।

उनले रुपन्देहीलाई पुर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने समेत बताए।