शुक्रबार देखि काठमाडौंमा पुनः मेलम्ची खानेपानी वितरण गरिदै

२२ मंसिर २०७९, बिहीबार १७:१८

शुक्रबार देखि काठमाडौं उपत्यकामा पुनः मेलम्ची खानेपानी वितरण गरिने भएको छ। भोलि चावहिलस्थित चुच्चेपाटीको पानी ट्यांकीबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिए।

‘भोलि बिहान ८ बजे चुच्चेपाटीको ट्यांकीबाट मेलम्ची खानेपानी वितरण गर्ने कार्यक्रम भएको उनले बताए। मेलम्ची खानेपानी आयोजना सुरु भएको दुई दशक पछि काठमाडौं उपत्यकाभित्र पहिलोपटक २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो।

पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गरिएको थियो। तर ०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो।

क्षति भएको ९ महिनापछि अर्थात् गत वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी ल्याइएको थियो। तर शहरवासीले एक महिना पनि पानी पिउन पाएनन्। सरकारले पहिलाजस्तो बाढीबाट क्षति हुन नदिन भन्दै गत जेठ १७ गतेबाट उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो।

बन्द गरिएको ६ महिनापछि पुनः पानी ल्याइएको हो। एक साताअघि मेलम्ची खोलाको मुहान अम्बाथानस्थित सुरूङ मार्गबाट मेलम्ची खानेपानी विकास समितिले पानी हालेको थियो।