नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सत्तागठबन्धन भाँड्न भएभरको दाउपेच लगाउन उद्यत छन् ।
एमालेको सरकार ढलाएर सत्ता गठबन्धनको सरकार बनाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन उनी सक्रिय छन् ।
उनले निर्वाचन जितेलगत्तै प्रचण्डलाई फोन गरेर सम्बन्ध सुधार गरेका थिए । ओलीका दूत प्रचण्ड निवासमा निरन्तर धाइरहेका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ। प्रत्यक्षमा कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७र७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १र१ तथा स्वतन्त्रले ५ सिट जितेका छन्।
समानुपातिकतर्फको मत परिणामअनुसार एमालेले ३४, कांग्रेस ३२, माओवादी र रास्वपा बराबर १४ हाराहारी र राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ४ सिट ल्याउने अनुमान छ।
एमाले नेतृत्वमा चुनावी सहकार्यमा गएको राप्रपा र जसपालाई साथ लिएर माओवादीलाई समेत गठबन्धनबाट फुत्काउन सके संघीय सरकार बन्न सक्ने बुझाइका कारण ओली निरन्तर प्रचण्डलाई फकाउने प्रयासमा छन् । २७५ सांसद रहने प्रतिनिधिसभामा सरकार निर्माणका लागि १३८ सांसद चाहिन्छ।
एमाले, माओवादी, राप्रपा र जसपा मिले संसद्मा १४७ सिट पुग्छ। एमाले अध्यक्ष ओली सकभर आफैं नेतृत्व लिने, त्यो हुन नसके कांग्रेसबाट माओवादीलाई अलग्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको जनाउ दिएको बताइन्छ। सोही सन्देश लिएर एमाले सचिव रघुवीर महासेठ सोमबार प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।
सत्तागठबन्धनको बैठकअघि नै महासेठ र प्रचण्डबीच गोप्य कुराकानी भएको थियो । तर, प्रचण्डले त्यसमा ठोस निर्णय नदिएको स्रोतले बताएको छ। माओवादी सत्तागठबन्धनबाट बाहिरिएर एमालेसँग गठबन्धन गरे पनि त्यो गठबन्धनले सरकार बनाउन सक्ने अवस्था छैन ।
