रातारात बुटवलबाट लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ सारियो

२० मंसिर २०७९, मंगलवार ११:३१

सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा सारिएको छ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए अनुसार मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको हो । उनले देउखुरीको कार्यालय ब्यवस्थापनको काममंगलबार बिहानैदेखि भइरहेको बताए ।

उनले केही दिन अघिदेखि नै मुख्यमन्त्री कुलबहादुर केसी देउखुरीमै बसेर काम गरिरहेको बताए । उनले भने, ‘प्रदेशसभाको निर्णयलाई कार्यान्वयन गर्नका लागि मुख्यमन्त्रीज्यू लागिपर्नु भएको छ ।, हिजो बुटवलबाट समानहरु ल्याइएको छ । अब मुख्यमन्त्रीले यहीँबाट काम गर्नुहुनेछ ।’

सोमबार राति साढे १० बजेतिर मुख्यमन्त्री कार्यालय र सचिवालयका फर्निचर लगायतका सामान बोकेर मुख्यमन्त्रीसहितको टोली बुटवलबाट स्थायी राजधानी देउखुरीका लागि हिंडेको दाङमा क्रियाशील पत्रकार पाण्डव शर्माले बताए।

बुटवलबाट सामान ल्याएर दाङ देउखुरी आएको ट्रक राति बुटवलबाट सामान लिएर हिँडेको ट्रक आज बिहान दाङ देउखुरी आइपुगेको थियो । ती सामान प्रहरीहरुको सहयोगमा व्यवस्थापन गरिएको छ ।

लुम्बिनी प्रदेशसभाको दुई तिहाइ बहुमतले २०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा घोषणा गरिएको थियो । देउखुरीमा संरचनाको अभाव देखाउँदै दुई वर्षसम्म पनि राजधानी स्थानान्तरण हुन सकेको थिएन ।