राष्ट्रिय दलको मान्यता पाउने ७ दल कुन कुन हुन् ?

१९ मंसिर २०७९, सोमबार १३:३८

मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको दोलखाको मत गणना सोमबार बिहान सम्पन्न भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो ।

सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ ।

नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७, जसपा ७, लोसपा ४ नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् ।

संसद्‍मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ । समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मत गणनामा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर पहिलो बनेको छ ।

आज १ः३० सम्म राष्ट्रिय दलको मान्यता पाउने यी हुन् सात दल
नेकपा एमालेले
२७,८८,३५६,
नेपाली काँग्रेस
२६,६०,२४६
नेकपा माओवादी केन्द्र
११,६२,१२४
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,५४३
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,६३८
जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४६
जनमत पार्टी
३,९४,५२३