प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना सकियो, कुन दलले कति सित जिते ?

१९ मंसिर २०७९, सोमबार १०:२५

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना सकिएको छ । दोलखाको मत गणना सोमबार बिहान सम्पन्न भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो । दोलखाबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।

सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ ।

नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७, जसपा ७, लोसपा ४ नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् ।

संसद्‍मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ ।

समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मत गणनामा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर पहिलो बनेको छ ।

सोमबार बिहानसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ भने कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ ।

माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३,जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ मत ल्याएको छ ।

जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९४ ३६२ मत ल्याए पनि थ्रेस होल्ड कटाएको छैन ।