पार्टीको महत्वपूर्ण राजनीतिक निर्णय लिन प्रचण्ड पुगे सुकुटे

१४ मंसिर २०७९, बुधबार १६:५९

सभामुख अग्निप्रसाद सापकोटासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटे पुगेका छन् ।

अध्यक्ष प्रचण्ड पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि सुकुटे जाने गरेको स्रोतले बताएको छ। प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सभामुख सापकोटासँगै प्रचण्ड सुकुटे पुगेका हुन् ।

यी दुई नेता पटक पटक सापकोटा सभामुख हुनुअघि सँगै सुकुटे पुगेका थिए । पछिल्लो तीन वर्षमा दुवै जना सँगै सुकेटे गएका थिएनन्। २०७६ फागुनको तेस्रो साता भएको सुकेटे महोत्सवको उद्घाटन प्रचण्डले गरेका थिए भने समापन त्यतिबेला भर्खरै सभामुख सम्हालेका सापकोटाले गरेका थिए । त्यस यता पनि प्रचण्ड र सापकोटा पटक पटक एक्ला एक्लै सुकुटे पुगे।

सुकुटेमा बसोबासको चाँजोपाजो माओवादी जिल्ला इन्चार्ज समेत रहेका हाल सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टीका पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधले मिलाउँदै आएका छन् ।

सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित माधव सापकोटा सुबोध र बागमती प्रदेसभा सदस्य निर्वाचित सरल सहयात्री पौडेलले, केन्द्रीय सदस्य अमृता नेपाल प्रभा लगायतले सुकुटेमा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटालाई स्वागत गरेका हुन् ।