नेपालको अर्थतन्त्रमा अहिले बहुआयामिक असर परेको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । महासंघको अनुसार राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार पुगेको छ।
मूल्यवृद्धि ६ वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको महासंघले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि विद्यमान समस्या सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ ।
मौद्रिक नीतिको समीक्षा गर्दै अहिले सरकार, सर्वसाधारण र निजी क्षेत्र सबै नकारात्मक रुपमा प्रभावित भएको महासंघले निष्कर्ष निकालेको छ। अर्थतन्त्रमा निराशाको अवस्था रहेको महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए ।
उनले भने,’अझै पनि हामी सचेत भएनौ भने अर्थतन्त्र दुर्घटनामा पछौं । बजारमा नियमित उत्पादन र आपुर्ति भै रह्यो भने यसले सरकारको राजस्व, सर्वसाधारणको रोजगारी र निश्चित सिमाभित्र मुल्य कायम राख्ने सुनिश्चितता गर्छ ।’
यो अवस्थामा मुलुक आइपुग्नुमा मुलतः अन्तराष्ट्रियस्तरमा इन्धन लगायत कच्चा पदार्थमा भएको मुल्यवृद्धि र नियामकीय अपरिपक्वता मुख्य कारक भएको उनको दाबी छ । नियामकीय सुधार समयमा हुन नसक्दा समस्या जटिल बन्दै उनको ठहर छ ।
महासंघको सर्वेक्षण अनुसार निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, फलामे छड लगायतका उद्योगहरु औसत ३० प्रतिशत क्षमतामा चलिरहेका छन् । दैनिक उपभोग्य सामानहरुको बिक्री १८ प्रतिशत घटेको छ । विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशत संकुचन भएको छ ।
