लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्यमा नेकपा (एमाले) बाट एकै घरका दुई दाजुभाइ निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्यको निर्वाचनमा निर्वाचित हुन् ।
राजुप्रसाद श्रेष्ठ पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् भने उनका भाई भोजप्रसाद श्रेष्ठ रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट प्रदेश सभामा निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै श्रेष्ठ १७ हजार ६ सय ४२ मत प्राप्त गरी पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गरे।
नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वामदेव घिमिरे क्षेत्रीलाई पछि पार्दै श्रेष्ठ रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट प्रदेश सभामा निर्वाचित भएका हुन्।
कूल खसेको मतमध्ये १६ हजार तीन सय मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी घिमिरेले नौ हजार चार सय १० मत पाए। उनीहरु स्व पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका भोजप्रसाद साहिलो र राजप्रसाद कान्छो सन्तान हुन्।
