राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने थलो गोरखा हो: प्रचण्ड

१३ मंसिर २०७९, मंगलवार १२:१४

मुलुकको विकासका लागि सुशासन आवश्यक भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

प्रचण्ड निवास खुमलटारमा गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू गोरखा पुगेको बताए ।

उनले भने,“राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ, राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्नुपर्छ ।”

आफूलाई गोरखाली जनताले दिएको विश्वास र जिम्मेवारी पूरा गर्ने सङ्कल्प समेत उनले गरे । यस्तै प्रचण्डले आगामी पाँच वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महसुस गर्ने गरी विकास गर्ने दाबी पनि गरेका छन् ।

“गोरखामा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र खाद्य सम्प्रभुता, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ, ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरु गर्नुपर्ने पनि छ । यी सबै पूरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त छु, उनले भने ।”

गोरखाली जनसमुदायको सद्भावले सकारात्मक ऊर्जासहित काम गर्न आफूलाई थप उत्प्रेरणा प्रदान गरेको प्रचण्डले बताए।