मतपत्र बढ्नु र घट्नुका कारण निर्वाचन आयोगले प्रष्ट पार्न सकेन: नेता झलनाथ खनाल

१३ मंसिर २०७९, मंगलवार ११:००

आफ्नो निर्वाचन क्षेत्रको मतगणनामा धाँधली भएको भन्दै कानुनी उपचारका लागि अघि बढ्ने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताएका छन्।

निर्वाचन अधिकृतले घोषणा गरेको मतपरिणामलाई आफूले स्वीकार नगरेको भन्दै उनले कानुनी समाधान खोज्ने बताएका हुन्। इलाम क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएको नतिजा आइतबार सार्वजनिक भएको थियो। खनालले भने चुनावमा अनियमितता भएकोले नतिजालाई स्वीकार नगर्ने बताएका छन्।

मतदान प्रक्रिया सुरू भएसँगै विभिन्न प्रकारका अनियमितताहरू भएको आरोप खनालले लगाएका छन्। एउटा मतपेटिकामा हाल्नुपर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सैयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरू गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदान प्रक्रियामा योजनाबद्ध रूपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ,’ उनले भनेका छन्।

मतपत्र बढ्नु र घट्नुका कारण निर्वाचन आयोगले प्रष्ट पार्न नसकेकोले मतगणनाको परिणामलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ। ती मतपत्रहरू कसरी गायब भएरु ती मतपत्रहरू कतिपय बाकसमा कसरी बढी हुन पुगेरु’ उनले भनेका छन्,‘यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसंगत जवाफ दिन सकेको छैन। त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन।’