प्रधानमन्त्री बन्ने दौडधुपमा पौडेलले भेटे माधव कुमार नेपाललाई

१२ मंसिर २०७९, सोमबार ११:३६

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल आज बिहान नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए ।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले दिएको जानकारी अनुसार प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने नेपालले पनि बताए । नेता नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा पनि जोड दिएको उनले बताए ।

नेपालको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘तपाईं गठन्धनको नेता पनि हो, गठबन्धन बनाउन तपाईंले दुःख गर्नु भएको पनि छ । यसपटक तपाईं प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नेमा हाम्रो पार्टी पनि सकारात्मक छ भनेर माधव नेपालले भन्नुभयो ।’

यस्तै प्रधानमन्त्रीको दाबेदारमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायत रहेका छन् ।